२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

पौराणिक मेला गरिपारे असाेज २ गते लाग्दै  

सल्यान, १ असाेज
पौराणिक महत्वको सांस्कृतिक पर्वको रुपमा रहेको सल्यानको गरिपारे मेला यही असोज २ गते लाग्ने भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५, लेखनाचौरमा भाद्र शुक्ल पूर्णिमाको अवसरमा गरिपारे मेला लाग्ने भएको हो । स्थानीय मौलिक कला, संस्कार र परम्पराको प्रदर्शन समेत हुने गरिपारे मेला सल्यानको एक चर्चित मेला हो ।

मेला लाग्ने स्थल लेखनाचौरमा यसअघि नै फिल्डलाई समथर बनाइएको छ भने सामुदायिक भवन तथा सुविधायुक्त शौचालय समेत निर्माण गरिएको छ । लेखनाचौर गरिपारे प्राकृतिक सौन्दर्यताले भरिपूर्ण महत्वपूर्ण क्षेत्र भएको भन्दै छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले मेलाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन पनि हुने अपेक्षा व्यक्त गरे । मेलालाई सुरक्षित, मर्यादित र सांस्कृतिक बनाउनका लागि जुवा तास र मदिरामा प्रतिबन्ध लगाइएको उनको भनाई छ । “मेला हाम्रो पहिचान र परम्पराको हिस्सा हो। यसलाई व्यवस्थित र अनुशासित बनाउनु हामी सबैको कर्तव्य हो,” बस्नेतले भने ।

आगामी बुधबार लाग्ने गरिपारे मेलामा स्थानीय सांस्कृतिक कार्यक्रमहरू, पिङ, मौलिक भेषभूषा, लोक नृत्य र खेलकुदको आकर्षण प्रमुख हुनेछ । यस प्रकारका कार्यक्रमहरूले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । मेलालाई सुरक्षित, मर्यादित र उल्लासपूर्ण बनाउन सबै स्थानीय बासिन्दा र आगन्तुकहरूलाई नियम पालना गर्दै सहभागी हुन वडा कार्यालयले अनुरोध गरेको छ । गरिपारे मेला भर्नका लागि छत्रेश्वरी गाउँपालिकाका लेखपोखरा, झिम्पे, दमाचौर, छायाँछत्रे संगै छिमेकी पालिका एवम् जिल्ला भित्र र जिल्ला बाहिरका विभिन्न क्षेत्रबाट मानिसहरु आउने गर्दछन् ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस