सल्यानको पश्चिम क्षेत्रमा जंगली बदेलको आतंक

सल्लीबजार
सल्यानको पश्चिमी क्षेत्रमा जंगली बदेलहरुको आतंक चलेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडाहरुमा किसानले लगाएको बालीनाली जंगली बदेलले नस्ट गर्ने गरेको छ ।
किसानले बारीमा रोपेका मकै, कोदो, बदाम, गन्जि, पिडालु आदि बालि पाक्न लागेको र घर भित्र्याउने अबस्थामा बदेल तथा दुम्सीले जरैदेखि उखेलिदिदा किसानमा चिन्ता छाएको छ ।
प्रायजसो जंगली जनावर रातको समयमा आउने गरेको र मानिस सुतेको बेला पुरै बारीनै रित्तिनेगरी बालि खाने गरेको देखिन्छ । वडा नम्बर १ का वडा सदस्यका लोक बहादुर बुढाले आफुहरु रातभर बारिमा सुत्ने गरेको तरपनि आफुहरु निदाएको अबस्थाको मौका पारेर आएर बालि नालि खाइदिने गरेको बताए ।
उनले भने, ‘हरेक बर्ष जंगली बदेल हजारको संख्यामा बढ्दै छन । हामीले कसरी नियन्त्रण गर्न सक्छौ ? यो विषय गाह्रो छ ।’
यस अघि सरकारले जंगली बदेल मार्नपाइने नियम ल्याएता पनि आफुहरुले हजार कोशिस गर्दापनि नियन्त्रणमा लिन नसकेको र यसका लागि सरकारले नै केहि गर्नुपर्ने उनले बताए ।