स्वास्थ्य सेवाको प्रभावकारिता र दिगोपनाका लागि छत्रेश्वरीमा वार्षिक समिक्षा
सल्यान ।
स्वास्थ्य सेवाहरूको प्रभावकारिता र दिगोपनाका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा समिक्षा गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को पालिका स्तरिय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका ७ वटै वडा स्थित ८ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका हुन् । सो अवसरमा बोल्दै जनप्रतिनिधीहरुले छत्रेश्वरी गाउँपालिकामा स्वास्थ्य सेवाको स्तर वृद्धि गर्ने विषय पहिलो प्राथमिकतामा रहेको भन्दै अघिल्लो वर्षका चुनौतीहरू र अवसरहरूलाई समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवाहरू प्रदान गर्न समिक्षा कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले विगत वर्षका कार्यले गर्दा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल भएको, तर जनचेतना अभाव, स्रोतसाधनको कमी, र सेवामा पहुँचको कठिनाइ जस्ता चुनौतीहरुलाइ समाधानका लागि सबैको सहकार्य आवश्यक पर्ने भन्दै यसबाट स्वस्थ र समृद्ध पालिका निर्माणमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आधारभुत स्वास्थ्य सेवाको पहुँच बढाउदै सुरक्षित मातृत्व र बाल स्वास्थ्य, सचेतना संगै महामारी, भाइरल संक्रमण, र अन्य रोगहरूको पहिचान, रोकथाम, र उपचारमा ध्यान दिनुपर्नेमा जोड दिदै मानसिक स्वास्थ्य समस्या एवम् पोषण क्षेत्रलाई पनि महत्व दिएर काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्री प्रेम नेपाली, ३ का वडा अध्यक्ष श्री तिर्थराज दाहाल, ४ का वडा अध्यक्ष श्री छबिलाल खत्री, ७ का वडा अध्यक्ष श्री टेक बहादुर विष्ट लगाएतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धिहरू र लक्ष्यहरूको मूल्यांकन गरेरे निर्धारित लक्ष्यहरू पुरा गर्न तथा स्वास्थ्य कार्यक्रमको कार्यान्वयनमा आएको समस्या र चुनौतीहरूको पहिचान गरेर समस्या समाधानको लागि रणनीति बनाउनपर्नेमा जनप्रतिनिधीहरुको जोड छ ।
स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आगामी वर्षको योजना बनाउन र आवश्यक सुधारहरू गर्न, स्रोतहरूको सही उपयोग भएको छ कि छैन भन्ने बुझ्न, स्थानीय स्तरमा समुदायको सहभागिता बढाउन र उनीहरूको आवश्यकता अनुसार कार्यक्रमलाई परिमार्जन गर्नका लागि समेत सहयोग पुर्याउने भएकाले समिक्षा कार्यक्रम गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशरीदेवी भट्टराईले जानकारी दिइन् ।
दमाचौर स्वास्थ्य चौकीका सिअहेव रुपक चन्द, आधारभुत स्वास्थ्य सेवा केन्द्र दहखोलाका सिअहेव चुडामणी वस्नेत, आधारभुत स्वास्थ्य सेवा केन्द्र दोहलीका सिअहेव ऐन प्रकाश बुढाथोकी, कोर्वाङ झिम्पे स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक शिशिर रिजाल, प्राथमिक स्वास्थय केन्द्र लेखपोखराका सिअहेव विर बहादुर वली, छायाँछेत्र स्वास्थ्य चौकी भोटेचौरका सिअहेव गणेशमान डाँगी, आधारभुत स्वास्थ्य सेवा केन्द्र जामुनेखोलाका सिअहेव नेब बहादुर रावत र सामुदायीक स्वास्थ्य ईकाइका अहेव दिपक बुढाथोकीले समिक्षा कार्यक्रममा आआफ्नो स्वास्थ्य संस्थाको समस्या र सुधार गर्नुपर्ने पक्ष सहित प्रगति विवरण प्रस्तुत गरेका थिए ।
पालिका स्तरमा स्वास्थ्य सेवा सुधार र नागरिकको स्वास्थ्य स्थिति सुदृढ गर्नका लागि जनप्रतिनिधीहरु सहित वार्षिक समिक्षा गरिएको स्वास्थ्य शाखाका प.हे.न. विमला डांगीले जानकारी दिइन् ।