२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

प्राथमिक स्वास्थ्य केन्द्र लेखपाेखराकाे एक्सरे मेसिन प्रयोगमै नआई ७ वर्षदेखि थन्कियाे

सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरामा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन प्रयोगमै नआई ७ वर्षदेखि थन्किएको छ । दक्ष जनशक्तिको अभावका साथै सामान्य मर्मतको अभावमा जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो ।

नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन २०७४ मा युनिसेफले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन उपलब्ध गराएको थियाे । युनिसेफले सहयोग गरेको मेसिन अहिलेसम्म प्रयोगमा आउन नसक्दा स्थानीय एक्सरे गर्नका लागि जिल्ला अस्पताल सल्यान तथा श्रीनगर बजारमा रहेका निजी अस्पताल धाउन बाध्य हुँदै आएका छन् ।

लामो समयदेखि डाक्टरविहीन रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि केही राहत भए पनि सात वर्षदेखि कोठामा थन्किएको एक्सरे मेसिन संचालनमा आउन नसक्दा वडाबासी मात्र नभई उपचारका लागि आउने झिम्पे, दहखोला, शारदा नगरपालिका–१३ स्यानीखालका बासिन्दा समस्यामा परेको स्थानीय दीर्घ पुनले बताए । 

पालिकाले २०७४/७५ मा एम्बुलेन्स खरिद गरेर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराए पनि एम्बुलेन्स अहिलेसम्म संचालनमा आउन नसकी त्यत्तिकै थन्किदा बिरामीले बाहिरबाट निजी गाडी रिजर्भ गरेर उपचार गर्न जानु पर्ने बाध्यतासमेत रहेको उनले जानकारी गराए ।

२०६५ मा लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएकाे थियाे । त्याे बेला जिल्लामा प्राथमिक स्वास्थ्य केन्द् थारमारे र प्राथमिक स्वास्थ्य केन्द्र लेखपाेखरा गरी २ वटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र थिए । 

प्राथमिक स्वास्थ्य केन्द्र लेखपाेखराका प्रमुख डा. राजन अधिकारीले मेसिनमा जोड्ने एक सानो सामग्री ल्याउन छुटेको भनेर त्यसबेला प्राविधिकले जडान गर्दागर्दै छाडेको र अहिलेसम्म त्यो सामग्रीको व्यवस्था गर्न नसक्दा सहयोग स्वरुप प्राप्त एक्सरे मेसिन संचालनमा आउन नसकी कोठामा थन्किएको बताए । 

छत्रेश्वरी गाउँपालिका–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले स्वास्थ्य केन्द्रमा प्राविधिकको दरबन्दीसमेत नभएकाले एक्सरे मेसिन संचालनमा आउन नसकेको बताए । एक्सरे मेसिन संचालनका लागि गत वर्ष प्रदेश सरकारलाई पत्र पठाए पनि कुनै चासो नदिएको उनकाे भनाइ छ । 

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस