राजस्व उठाउन मनपरी उत्खनन
सल्यान ।
सल्यान जिल्लाकाे प्रमुख नदि मानिने शारदा नदिमा मनपरी उत्खनन भैरहेकाे छ । स्थानीय तहहरूले राजस्व उठाउने नाममा ढुंगागिट्टी र बालुवा उत्खननको जिम्मा जथाभावी दिन थालेपछि शारदा नदि उत्खननकाे केन्द्र जस्तै बनेकाे छ ।
भवन, सडक, पुललगायत पूर्वाधार निर्माणका नाममा खोला दोहन गर्ने क्रम बढ्दै गएपछि जलचर संकटमा पर्दै गएका छन् । खोलानजिकैका गाउँमा प्रकोपको जोखिम बढिरहेको छ ।
शारदा नदी, बन्गाड, त्रिवेणीलगायत ठूला खोलामा ठूला मेसिनको प्रयोग गरी दिनहुँ ढुंगागिट्टी र बालुवा निकाल्ने क्रम बढिरहेको हो । कालीमाटी गाउँपालिकाले १५ लाख, त्रिवेणीले १६ लाख र शारदा नगरपालिकाले १० लाख रुपैयाँमा गिट्टी बालुवा संकलनको जिम्मा दिएका छन् । २/२ वर्षका लागि टेन्डर खोलेर पालिकाहरूले विभिन्न निर्माण कम्पनीलाई नदी तथा खोला उत्खननको जिम्मा दिएका छन् । स्थानीय तहहरूले प्रतिस्क्वायर फिट २ रुपैयाँमा ठेकेदारलाई गिटी बालुवाको जिम्मा दिएको जनाएका छन् ।
खोलाहरूमा ठेकेदारको मनपरी हुँदा खोलाको गहिराइ बढिरहेको छ । जसका कारण खेतीयोग्य जग्गामा सिँचाइको समस्या देखिन थालेको स्थानीय कमल शर्माले बताए । उनका अनुसार जिल्लाका अधिकांश खोलाहरूमा माछा देखिन छाडेका छन् । ‘संरक्षण गर्ने जिम्मेवारी पाएको स्थानीय तहले नै स्थानीय स्रोतका नाममा जथाभावी गर्न थाले,’ उनले भने, ‘केही ठूला विकास निर्माणको जिम्मा पाएका ठेकेदारलाई उत्खननको जिम्मा दिँदा उनीहरूले यहाँबाट बालुवागिट्टी निकालेर अन्यत्र लगेर बिक्री गर्न थाले ।’ उनले ठेकेदार कम्पनीले नदीमै डोजर लिएर उत्खनन गर्दा पर्यावरणमा ठूलो असर परेको बताए ।
व्यक्तिका जग्गाबाट बालुवा निकाल्ने भन्दै वर्षायाममा खोलाको बीचबीचमा गएर बालुवा उत्खनन गरी बिक्री गर्दा बाढीपहिरोको जोखिम बढेको रिखेबगरका धनबहादुर रोकाले बताए । उनका अनुसार विगतमा तत्कालीन जिविसले ठेक्का गर्दा मापदण्ड पूरा गर्ने ठेकेदारले अहिले स्थानीय जनप्रतिनिधिको मिलेमतोमा मनपरी गरिरहेको उनको भनाइ छ । उनका अनुसार स्थानीय तहले पनि वातावरणीय प्रभाव मूल्यांकन नगरी टेन्डर गर्दा खोलाको दोहन बढेको हो । ‘स्थानीय तहले बालुवा तथा गिट्टी निकाल्न स्थान तोक्छ, तर ठेकेदारले आफूलाई जहाँ मन लाग्यो त्यही डोजर चलाउँछन्,’ उनले भने, ‘सबैको मिलेमतो र सेटिङ नभए कसरी ठेकेदारको मनपरी बढ्यो ?’
अहिले शारदा नदी र आसपासका खोलामा जथाभावी उत्खनन हुँदा स्वरूप नै बिग्रिएको कालीमाटी गाउँपालिका–५ का नवराज पुनले बताए । जथाभावी उत्खननले सिँचाइ समस्या ह्ुँदा खेतीपातीमा ठूलो असर परेको उनको भनाइ छ । उनले खोलाको गहिराइ बढ्दा यसअघि सिँचाइ सुविधा पुगेको ठाउँमा पनि सिँचाइ अभाव ह्नु थालेको बताए । ‘पहिले आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने परिवारमा अहिले ६ महिना पुग्दैन,’ उनले भने, ‘जसका कारण अधिकांश युवाहरू जीविकोपार्जन गर्न मजदुरीका लागि भारत जान बाध्य छन् ।’ जथाभावी डोजर लगाइँदा स्थानीयवासीको रोजगारीसमेत खोसिएको उनको गुनासो छ ।
शारदा खोलाबाट दिनहुँसो ढुंगागिट्टी निकालिँदा खेतहरू पाखो बारीमा परिणत हुन थालेको र धान लगाउने खेतमा मकै लगाउन बाध्य हुँदै आएको बन्गाडकुपिण्डे नगरपालिकाका रेशमबहादुर बस्नेतले बताए । ‘केही वर्षअघिसम्म सानो कुलोले पनि बाह्रै महिना सिँचाइ गर्न सकिन्थ्यो,’ उनले भने, ‘अहिले सिँचाइ अभावमा वर्षमा एक बाली मात्र लगाउन मिल्छ ।’ पहिला लुकीछिपी गिट्टीबालुवा उत्खनन गर्ने ठेकेदारले अहिले हाकाहाकी नदीजन्य सामग्री निकाल्दै आएको उनले आरोप लगाए ।
स्थानीय तहलाई उत्खननको अधिकार दिँदा प्राकृतिक सम्पदाको दोहन बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टले बताए । उनका अनुसार गत वर्ष त्रिवेणी गाउँपालिकामा सञ्चालित एक क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको थियो । उनले अझै पनि ४ अवैध क्रसर उद्योग सञ्चालन भइरहेको बताए । उनीहरूले अस्थायी अनुमति लिएर खोलाजन्य वस्तु उत्खनन गर्दै आइरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जिल्लामा आईई गरेका स्थानीय तहले मात्र खोलाजन्य वस्तु उत्खनन गर्न पाउने बताए । ‘मापदण्डभन्दा बाहिर रहेर कसैले उत्खनन गरेको उजुरी परे तत्काल कारबाही गरिनेछ,’ उनले भने, ‘केही दिनअघि खोलाजन्य वस्तु उत्खननमा मनपरी गरेको भन्दै कालीमाटीबाट उजुरी परेको थियो, प्रहरी परिचालन गरेर उत्खननको काम तत्काल बन्द गराएका छौं ।’
कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले वातावरणमा कुनै असर नपर्ने गरी आईई गरेर स्थानीय स्रोतका लागि टेन्डरको आह्वान गरिएको बताए । उनका अनुसार ठेकेदारले कहिलेकाँहि आफनो फाइदाको लागि तोकेको क्षेत्रभन्दा बाहिर गएर बालुवागिट्टी उत्खनन गर्ने समस्या छ । छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खनालले पालिकाले गत वर्षदेखि खोलाजन्य वस्तु उत्खननको काम नगरेको जानकारी दिए ।
४ हजार हेक्टरमा सिँचाइ समस्या
खोलाबाट जथाभावी गिट्टीबालुवा निकालेपछि गहिराइ बढ्दा जिल्लाभरि झन्डै ४ हजार हेक्टरमा सिँचाइ समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार ४ वर्षयता सिँचाइ अभावमा झन्डै एक हजार हेक्टर जमिन बाँझिएको छ । जिल्लाको शारदा नदीलगायत केही खोला किनारमा ३ बाली सहजै लाग्नेमा अहिले २ बाली मात्र लाग्ने गरेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए । उनका अनुसार खोलाको गहिराइ बढेका कारण किसानलाई सिँचाइका लागि बढी मिहिनेत गर्नुपर्ने देखिएको छ । सिँचाइको समस्या सामाधान गर्न किसानलाई अनुदानमा मोटर वितरण गरिरहेको उनले जानकारी दिए ।
उत्खननका कारण सबैभन्दा बढी शारदा नदी प्रभावित भएको उनले बताए । उनका अनुसार शिवरथ, कोटबाडा, बाफुखोला, लौराबाङ, दम्दवालीलगायत क्षेत्रमा बढी उत्खनन भइरहेको छ । २ नगरपालिका र ४ गाउँपालिका छोएको शारदा नदीले २ हजार ५ सय हेक्टर खेतमा सिँचाइ सुविधा पुगेको छ ।