सूर्यचौरमा हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला
काठमाडाैं ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।
‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’
मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन।
को–को थिए यात्रु ?
हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो हेलिकप्टर
काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।
हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री पनि घटनास्थलतर्फ प्रस्थान गरेका छन् । पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरीहरू गएका छन्।