२०८१ कार्तिक २२ गते बिहिवार | 2024 November 7th Thursday

सल्यानमा बाल अधिकार र श्रोतमा पहुँचका लागि बृहत संवाद सम्पन्न

सल्यान ।

जनप्रतिनिधी, कर्मचारी, बालबालिका, शिक्षक तथा सञ्चारकर्मीका विचमा बाल अधिकार र श्रोतमा पहुँच विषयक संवाद कार्यक्रम आइतबार सल्यानमा सम्पन्न भएको छ । समतामूलक र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकारका महत्वपूर्ण पक्षहरु, बालबालिकाले हाल भोग्नुपरेका समस्या, जिल्लाको शारदा नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेका काम र सुधार गर्नुपर्ने विषयमा अन्तरक्रिया र संवाद गरिएको हो ।

कार्यक्रमका सहभागिहरुले दृष्टीविहिन बालवालिकाहरुको सहजताका लागि आवश्यक पहल गर्नुपर्ने, बाल सञ्जाल तथा बाल क्लवहरुलाई सक्रिय बनाउनुपर्ने, विद्यालयमा शिक्षकको पदपूर्ती समयमै गर्नुपर्ने लगाएतका विषयमा समस्या तथा सुझाव प्रदान गरेका थिए ।

सामुदायीक विद्यालयको शिक्षा सुधारमा विशेष ध्यान दिनुपर्ने, खानेपानी समस्याका कारण विद्यार्थीको पढाईमा असर परिरहेकाले यस प्रकारको समस्या समाधान गर्नुपर्ने, बावु आमा नभएका र अरुको संरक्षणमा रहेका बालवालिका विद्यालय जाने दर कम भएकाले यो समस्या समाधान गर्नुपर्ने देखि स्यानेटरी प्याड गुणस्तरिय नभएको, दिवा खाजा पर्याप्त नभएको तथा क्यान्टीनको सरसफाईमा ध्यान नपुगेको जस्ता सवालहरु पनि सहभागिहरुले उठाएका थिए ।

कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले शिक्षा क्षेत्रमा देखिएको राजनिति पुर्णरुपमा अन्त्य गरिनुपर्ने धारणा राखिन् । ‘नगर भित्रका बिद्यालयमा कार्यरत शिक्षकहरुले राजनितिक दलको सदस्यता त्याग गरिसक्नुभएको छ, यदी कोही शिक्षक राजनितिक गन्ध आउने गरेर शिक्षामा राजनितिक गरेको भए भन्नुहोला, हामी कारवाही गर्न तयार छौँ, शिक्षा क्षेत्रलाई सुधार गर्दै ज्ञानआर्जन गर्ने पवित्र क्षेत्रका रुपमा विकास गर्न चाहान्छौँ’, उनले भनिन् । सिक्ने मात्रै नभएर बिक्ने जनशक्ति उत्पादन गर्ने नगरको लक्ष्य रहेको भन्दै उनले बिद्यालयको पहुँच बाहिरका सबै बालबालिकालाई अनिवार्य र निशुल्क शिक्षाको पहुँचमा ल्याउने गरी काम गरिने बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बिद्यालय शिक्षालाई स्वार्थमा राख्न नहुने बताए । ‘शिक्षा क्षेत्रमा गरेको लगानीको नतिजा तत्काल देखिदैन्, अहिले गरेको लगानी १०/१५ बर्षपछि देखिन्छ, त्यसैले लगानी गर्न छोड्नु हुदैन्, किनकी बालबालिका भबिष्यका कर्णधार हुन् । अभिभावक शिक्षासँगै शैक्षिक जागरणका अभियान सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने दायित्व शिक्षक र बिद्यार्थीको मात्रै नभएको भन्दै कार्यक्रमका सहभागिहरुले शिक्षकले पढाएनन् र बिद्यार्थीले नपढेकै कारण शैक्षिक गुणस्तरमा सुधार नभएको भ्रम समाजमा अझै रहेकाले यसमा सबै क्षेत्र जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताए । दोष सबै शिक्षक र बिद्यार्थीलाई थुपारेर अभिभावक, बिद्यालय व्यवस्थापन समिति, शिक्षा सम्बन्धि सरोकारवाला र राज्य पन्छिन नहुने उनीहरुको भनाइ छ ।

कार्यक्रममा शारदा नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख लिलाधर बबालले शिक्षाको बृहत्तर विकासका लागि थुप्रै काम गरिएको जानकारी गराए । भौतिक संरचना निर्माण, बसाई व्यवस्थापन, दिवा खाजा, बिद्यालय नर्स, खेलमैदान लगाएतका थुप्रै क्षेत्रमा लगानी गरिएको भन्दै उनले बालबालिकाले बिचैमा कक्षा छोड्ने कार्यलाई रोक्नका लागि अभिभावक शिक्षा सञ्चालन गरिएको र बाहिरी ज्ञान हाशिल गर्न अतिथि कक्षा सञ्चालनको योजनामा रहेको उल्लेख गरे ।

स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले स्वस्थ्य बालबालिकामात्रै पठनपाठनका कार्यमा नियमित सरिक हुनसक्ने भएकाले बालकालिकालाई तन्दुरुस्त बनाउने र आनीबानीमा सुधार गर्ने गरि स्वास्थ्य सचेतीकरणका कार्य सञ्चालन भैरहेको बताए । महिला तथा बालबालिका शाखा प्रमुख संगिता बबालले बालविवाह अन्त्य सँगै किशोरावस्थामा आउने शारिरीक परिवर्तनका बारेमा सचेतकीरण गर्ने, सहीबाटोमा हिड्न प्रेरित गर्ने गरि बालबालिकाको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् ।

कार्यक्रममा समतामूलक र समावेशी शिक्षा कार्यक्रम संयोजक दिपेन्द्र शाहीले शारदा नगरपालिका भित्रका ८६ जना बालबालिका बिद्यालय बाहिर रहेको तथ्यांक प्रस्तुत गरे । ‘हामीले वडास्तरमा पुगेर सर्वेक्षण गर्दा यो बर्षमात्रै ८६ बालबालिका बिद्यालय बाहिर रहेको पाईएको छ, यो विचमा ५ जना बालबालिका बिद्यालय भर्ना भएका छन्’ उनले भने ‘अनिवार्य र निशुल्क शिक्षाको पहुँचबाट बालबालिका कसरी छुटेका हुन् ? यसबारेमा विस्तृत अध्ययन गर्छौ, बिद्यालय उमेरका सबै बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउने स्थानिय सरकारसँग साझेदारी गरेर काम गर्छौ ।’

नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको सहजिकरणमा भएको संवाद कार्यक्रममा पत्रकार बुद्धि पुन, खकेन्द्र केसी लगाएतले बोल्दै बाल अधिकार संरक्षण तथा विद्यालय शिक्षा सुधारका लागि विभिन्न सुझाव प्रदान गरेका थिए । कार्यक्रममा समतामूलक तथा समावेशी शिक्षा कार्यक्रम र प्रारम्भीक कक्षा सिकाइ परियोजनाका टेकराज शाही, टेकराज शाही, गोकर्ण उपाध्याय, सत्यदेवी बम लगाएत, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस