डाक्टर बाबु ! अब यो चुरोट शारदा नदिमा फालेर मात्र गाउँ फर्किन्छु
बाफुखाेलाकाे लेकबाट हिउँदाेकाे पहिरोलाई छिचोल्दै, पाखा पखेरा हुँदै, स्याउँलाका सोतरहरु सोर्दै काेटबारा झरेसी लामो सास फेर्दै गरेकी आमाले चौतारीमा चुरोटको धुवा मस्त सँग तान्दै भारी बिसाएका भरियालाई सोधिन- “ए बाबु यो श्रीनगर बजार जान यहाँबाट अब कति लाग्छ ?” उनि हल्का स्या स्या गर्दै छिन । हेर्दा लाग्छ ४ बिस काटेकी, कुर्कुचा मस्तै फुटेका, गाला पुरै चाउरी परेका तर हिम्मत भने अहिलेका युवा भन्दा कमि छैन् । आमा अझै लाग्छ ४/५ घण्टा लाग्छ भन्दै भरिया चुरोटको ठुटो तान्दै अगाडी बढे ।
बाबु लौन राती पर्ने भयो त ! आज श्रीनगरमा शिविर आउने रे, काठमाडौँका डाक्टर आका छन् रे ! फोक्सो हेरेर औसधी दिन्छन रे, मलाई झट्टै सन्चो हुन्छ रे । बाबु शिविर छुट्ने भयो मेरो, लौन भन्दै पोल्टाबाट चुरोटका ठुटो झिकी, सल्काई रफ्तार अगाडि बढें आमाका परिवर्तनकारी सोच ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको भनाइ “उद्दे्श्य के लिनु उढि छुनु चन्द्र एक ” भने झैँ ति पाईलाहरु रोकिने छैनन् । अँ हँ पक्कै रोकिने छैनन् । अरुको भर नपरिकन र सकभर अरुलाई दु:ख नदिकन बाच्नु जीवनको ठुलो उपलब्धी हो । आमाको आन्तरिक क्षमतालाई मान्नै पर्छ ।
लक्ष्य प्राप्त गर्दा धेरै बाधा अड्चन आउछन तर हिम्मत हार्नु हुदैन भन्ने जल्दो उदारहण हुन् आमा । डाक्टर भेट्नु छ, फोक्सो देखाउनु छ, छातीको ओखती लिनु नै छ, बाच्ने आधारलाई बलियो बनाउनु नै छ भन्दै पाइला अगाडी सर्दै छन् । मनमा अनेकौं भावना आउछन् जान्छन्, मन न हो मस्तै कुराहरु खेल्छन् ।
बुढा भाको भए बुढेसकालमा साहारा त हुन्थो, परार सालको कोरोनाले लगेछ बुवालाई, छोराहरु नभाको भने होइन
५ भाइ छोराहरु मध्य जेठो जन्मनासाथ बितेछ, माहिलो रोजगारीका निम्ति मलेसिया ,साँहिलाे टेम्पो चालक,
अरु दुइटा तेइ त हो जुवा तास, जाड रक्सि मरे सरह भए ति ।
चुरोट अझै सकिएका छैनन्, चुरोटको धुहाको साथमा बुढेसकालका पाहिलाहरु अगाडी सर्दै छन, मरिने पो हो क्या हो, कहिले काँहि सोच्ने गर्छिन, जे सुकै होस् झ्याक्नी । कोरोनाले मलाई पनि बुढासंगै लगेको भए आनन्द त हुने थियो, मस्तिस्कमा गहिरो चोट छ आमाको ।
२००७ साल को प्रजातन्त्र, पंचायत, जनयुद्व, लोकतन्त्र, गणतन्त्र हुँदै भुकम्पकाे कहरसम्म आइपुगेकी आमा ! दुइ हाल गोरु, ४/५ वटा बाख्रा र एउटा झुपडी, सत्यानास सबै लग्यो पापी भुकम्पले । म अभागी बुढी येहि देख्न बाचेको रहेछु ।
परिवारमा नाती भुन्टे बाहेक सबैले साथ छाडेका छन् । बुढी आमालाई भुन्टेको उज्यालो भबिस्यको लागि भए पनि बाच्नै पर्छ भन्दै बर्बराउछिन् । नाती १२ पुगी १३ लागेको अस्ति भर्खर , आमालाई ओखति किन्न भनेर शहर पसेको १-२ वर्ष बितेछ / घर फर्कने पत्तो छैन । सबै गाउँलेबाट अपहेलित बनेकी थोती बुढी, आखिर छुवाछुतको सिकार पनि बनिन्, त्यहि त हो हाम्रा गाउँ घरमा कुवामा खाने पानी लिन जादा पनि घन्टौ कुर्नु पर्ने, माथिल्ला जातले पानि भरेपछि मात्र पालो आउने, न त छोराहरुलाई उचित शिक्षा दिन सके, न त नातिलाई पढाउन नै सके ।
हैन हाम्रो समाज कता तिर जादै छ ह ? वर्ष ५ बितो साँहिली छोरि पोईला जाँदा मेरा गलाका पोते लुछ्न आउने हिरालाल बुढा आज जिउँदै छन् । पोहोर साल पानीले बस्न खान दिएन । खहरले छानो छाउनु परो भनि लिएको गोडा ४ हजार ऋण अहेले सम्म तिरेको छैन बस्नेत काजीलाई, पाप धुरीबाट कराउछ भनेको येही हो चर्को ब्याजमा ऋण दिने काजी आज खोइ के हो म त भन्नै जान्दिन चिनी रोगले थलिएका छन् रे ! आँखा देख्दैनन रे ! मिर्गौला खराब भाका छन् रे ।
“बदाम बदाम, सुन्तला सुन्तला,सस्तो सस्तो खाने, आमा सुन्तला” श्रीनगर बजार आज निकै चहलपहल छ । आज आइतबार । हप्ताको पहिलो दिन । हाट बजार त्यहि माथि खैराबाङ भगवतीको मेला, अनेकौ ठाउँबाट जम्मा भएका छन् आज श्रीनगरमा ।कोरोना पछि चहल पहल निकै घटेको बेला, आज भने अनगिन्ति मान्छेहरु जम्मा भएका छन्, भिड कुचाल्दै आमा लागिन अस्पताल तर्फ़ !
ए बाबु काठमाडौँ बाट डाक्टर आका छन् रे ,खोइ कहाँ छन् ? हस्याङ्ग, फस्याङ्ग, छिटो छिटो सास फेर्दै आइपुगिन् आमा, मस्तै ठाउँमा च्यातिएका ति चोलो, कानमा लगाईएका ति डुङ्ग्री घाटीमा लगाईएका जन्तर, पहेलो पोते र टाउकोमा लगाईएका पहेलो श्याड़े (टोपी) हेर्दा लाग्छ ४ बिस काटेकी, गाला पुरै चाउरी परेका, नाङ्गो खुट्टा र थाप्लोमा नाम्लो !
डाक्टर बाबु नमस्कार । नमस्कार आमा ! ए बाबु लौन यो मेरो छाती फुलेको फुलेकै गर्छ, खोकी मस्तै लाग्छ बाबु, रात भरि खोक्छु, मस्तै च्यापेको छ बाबु , लौन बाबु यो मेरो रोगलाई डाडा कटाउनु परो !
आमा शब्द निकै बलवान् छ , आमा बलिदानका प्रतिक हुन् , त्याग तपस्याका खानी हुन् आमा , सत्यता प्रेम र इमान्दारीका परिभासा हुन् आमा । आज तेही परिभाषामा धमिरा लागेका छन्, ईच्छा आकाङ्छाहरु मेटिएका छन्, संघर्ष केवल दुई छाक खानका निम्ति र बाच्ने आधार अर्को ५/१० वर्ष !
झल्यास्स बिउझिए ! आमा बस्नुस, म छु नि !
छाती जाँच गरौ त आमाको , SISTER एउटा X-RAY बनाउनुस, तुरुन्त रिपोर्ट तयार पार्नुस, लौ त आमा फोक्सोले विदा माग्या जस्तो छ, चुरोट कक्कर तुरुन्त छाड्नु परो, मुखबाट तान्ने औसधि प्रयोग गर्नु परो आमा, निको हुन्छ, आत्तिनु पर्दैन तर चुरोट भने छाड्नुस है !
हो र बाबु , निको हुन्छ भन्ने शब्द सुन्ने बितिक्कै आमाका अनुहारमा हासो पुन झल्कियो, लु डाक्टर बाबु वचन भयो यो चुरोट अब शारदा खोलामा फालेर मात्र गाउँ फर्किन्छु ।
हवस् त आमा लामो सास तान्दै म ईमर्जेन्सि तर्फ़ लागे, मनमा अनेकौ कुराहरु खेलिरहेका छन्, यो समाज अनि अहेलेका युवा पुस्ताहरुम़ा बिकराल रुपमा फैलिएको अझ भनौ गड नै बसिसकेको चुरोट र म़ा प से को लत, युवा पुस्तहरुमा निकै नै चर्चित “एक सर्को चुरोट,तिम्रो याद र चिया “ खोइ यो ट्रेन्ड कहिले सम्म चलिरहने हो ?
कथित नेपाली परिबेससँग लर्दै पर्दै थोती बुढीका यात्रा अगाडी बढेका छन् ,यिनको यात्रा बिशाल महलका निम्ति होइन ,घर बंगला गाडीका निम्ति होइन, बाचुन्जेल एक दुइ छाक खान नटुटोस ,जिउमा एक सरो कपडा लाउन पाउ र ओखति समयमै गर्न पाउ, पुर्ण त मोज मस्तीको जीवन भन्दा पनि, गाँस बास र कपासका निम्ति हो, यो पापी मानव जाति अरुलाई दु:ख पर्दा सहानुभूति दर्साएर भित्रि मनमा हर्सौउल्लासका ज्वाला रोपी आनन्दसंग रमाउने यो समाजको के भरोसा ।
“अभिरल बग्दछ ईन्द्रावती” भने झैँ थोती बुडीका यात्रा फेरी सुरु भएको छ , यात्रा कहाँ जाने हो ? कहाँ गएर टुंगिने हो न स्वयम यिनिलाई थाहा छ , न त यो समाजलाई नै , हरे शिव।