छत्रेश्वरीमा आगलागीबाट घर जलेकालाई २० हजार र गाेठ जलेकालाई १० हजार राहत

बैशाख २३, सल्यान ।
आगलागीबाट घरगोठ जलेर नष्ट भएका पिडित परिवारलाइ सल्यानको छत्रेश्वरी गाउँपालिकाले राहत रकम प्रदान गर्ने भएको छ । गाउँपालिकाको विभिन्न वडामा आगलागिबाट घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएका पिडित परिवारलाइ राहत रकम प्रदान गर्ने निर्णय भएको हो ।
आइतबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले घर जलेर नष्ट भएका पिडित परिवारलाइ प्रती परिवार २० हजार र गोठ जलेर नष्ट भएका पिडित परिवारलाइ प्रती परिवार १० हजार रुपैया राहत स्वरुप नगद उपलब्ध गराउने निर्णय गरेको हो । पिडित घरपरिवारलाइ थोरै भएपनी राहत स्वरुप नगद उपलब्ध गराउने निर्णय भएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए ।
गाउँपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिको अनुगमन, प्रहरी मुचुल्का, सम्बन्धित वडाको सिफारिस एवम पिडितको निवेदनको आधारमा तत्कालै राहत रकम उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए । वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक प्रेम बहादुर नेपाली नेतृत्वको टोलीले आइतबार देखि नै आगलागी पिडितको स्थलगत अनुगमन सुरु गरिसकेको पनि प्रवक्ता बस्नेतले जानकारी दिए ।
छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५ मा सबै भन्दा धेरै घरपरिवार आगलागी बाट पिडित भएको बताइएको छ । जंगलबाट सल्केको आगो बस्ती सम्म पुग्दा वडा नम्बर ५ मा ६ वटा घर र ८ वटा गोठ जलेर पुर्ण रुपमा नष्ट भएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बस्नेतले जानकारी दिए । यस्तै अन्य वडामा पनि आगलागिले घरगोठमा क्षेती पुर्याएको छ ।
आगलागी लगत्तै वडा कार्यालयको तर्फबाट तत्कालको लागि राहत स्वरुप केही खाद्यान्न सहयोग गरिएको पनि बस्नेतले जनाए ।