२०८१ जेष्ठ ४ गते शुक्रवार | 2024 May 17th Friday

सल्यानमा बिहेकाे नाच हेर्न गएका ११ जनाले बेहुलीका दाईकाे लिए ज्यान

वैशाख १३, सल्यान ।

सल्यानमा बिहेकाे नाच हेर्न गएकाे एक समूहले बेहुलीका दाइकाे हत्या गरेका छन्

जिल्लाको कुमाख गाउँपालिका ६ वडागाउँका २१ वर्षीय विकास वलीको छिमेकी गाउँ वडा नम्बर ५ झारकाँडाका ११ जनाकाे समुहले कुटपिट गरि हत्या गरेका हुन् ।

मङ्गलबार राती करिब ९ बजेकाे समयमा वडा न‌‍म्बर ६ काैछेमा गाेरख वलीकाे घरमा छाेरीकाे विवाह थियाे । मृतक विकास वलि र गाेरख वली सहाेदर अ‌ङ्कल भतिज हुन् । विकास बडागाउँबाट काैछेमा अङ्कलकाे छाेरी (बहिनी)काे बिहेकाे लागि गएका थिए ।

दिनभर बिहेमा व्यस्त भएका उनि साँझ बहिनी सहित जन्ती विदाइ गरेपछि घरका परिवारसँगै थिए । त्यसक्रममा बिहेघरमा नाच हेर्न भनेर झारकाँडाका ११ जना युवाकाे समुह आए ।

पीडित पक्षका अनुसार ति युवाकाे समुहले हाेहल्ला सहित आँगनमा सिङ्गारिएका पतङ्गा, गेटहरु फालेर उभद्राे गर्न थाले । ‘घरकाे छेउमा राेकिराखेकाे माेटरसाइकलमा ताेडफाेड गर्न थाले ।’ मृतकका दाइ भिम प्रकाश वलीले लेकाली अनलाइनसँग भने, ‘त्यसपछि मृतक विकासले यस्ताे उभद्राे किन गरेकाे भनेर प्रतिकार गर्न थाले ।’

दुवै पक्षबाट झगडा बढ्दै जाँदा ११ जनाको समुहले घरदेखि करिब १ किलोमिटर टाढाको जंगलको बाटोमा विकासलाई लगेर निर्घात कुटपिट गरि बेहोस बनाएर छोडेको परिवारले जनाएको छ । राति खोज्दै जाँदा विकास बाटोमा बेहोस भएर लडेको र परिवारले उठाएर मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा लगि सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।
बिहे सकिएपछि साँझ घरमा धेरै मान्छे नभएको र अँधेरी रात भएकोले ११ जनाको समुहलेे सजिलै सँग विकासलाई आक्रमण गरेको मृतकका दाइ भिम प्रकाश वलीले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिहं कुमाई, १९ वर्षीय हेमन्त थापा लगायत११ जनालाई नियन्त्रणमा लिईएको सल्यान प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।

पक्राउ परेकाहरू दोहोरो विवाद हुँदा घटना घटेको र आफुहरुमाथी भएको आक्रमणको प्रतिरक्षा गर्दा मृतकलाई चोट लागेर ज्यान जान पुगेको बयान दिएको प्रहरीले जनाएको छ । यसबारे अहिले अनुसन्धान भैरहेकोले थप यथार्थ कुरा पत्ता लगाउन केहि समय लाग्ने डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस