छत्रेश्वरी गाउँपालिकामा शिशु र बाल उपचार बारे स्वास्थ्यकर्मीलाई अनुशिक्षण

बैशाख २, सल्यान ।
नवजात शिशु र बालरोग व्यवस्थापनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरेको छ । आइतबार छत्रेश्वरी ७ को जामुनेखोला स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुलाई समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन बारे अनुशिक्षण गरिएको हो ।
विषेश गरी समुदायस्तरमा नवजात शिशुको मृत्युदर घटाउनका लागि र बालवालिकामा हुने रोगहरुको व्यवस्थापन गर्न सबै स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षीत गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जनाइन् । नवजात शिशुको स्याहार, जन्मदा स्वास नफेरेको वा नरोएको शिशुको व्यवस्थापन, अवधि नपुगेर जन्मीएको वा जन्मदा कम तौलको शिशुको व्यवस्थापन लगाएतका विषयमा स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउनका लागि अनुशिक्षण गरिएको उनको भनाई छ ।
यस्तै दुई महिना सम्मका विरामी शिशुको उपचार तथा दुई महिना देखि ५ वर्ष सम्मका वालवालिकाको उपचारबारे हरेक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
यस अघि छत्रेश्वरी १ को दमाचौर स्वास्थ्य चौकी र कोर्वाङ झिम्पे स्वास्थ्य चौकीमा पनि ‘कोचिङ’ सम्पन्न भइसकेको स्वास्थ्य संयोजक भट्टराईले जानकारि दिइन् । आइतबार वडा नं ७ मा कार्यक्रम सम्पन्न भएको र सोमबार वडा नं ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा कार्यक्रम तय गरिएको छ ।
दुर्गम क्षेत्र, पिछडिएका समुह र विपन्न नागरिकका नवजात शिशु तथा बालवालिकाहरूको आधारभूत स्वास्थ्य सेवामा पहुँच र उपभोगमा अभिवृद्धिका लागि एकिकृत व्यवस्थापन महत्वपूर्ण रहेको सिअहेव गणेशमान डाँगीले जनाए । उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने दर बढाएर नवजात मृत्यु घटाउन नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ ।