नेपाल पत्रकार महासंघ सल्यानको छैठौं अधिवेशन सम्पन्न
![](https://lekaalionline.com/wp-content/uploads/2021/08/default-feature-image.png)
चैत ३०, सल्यान ।
पत्रकार महासंघ सल्यान जिल्ला शाखा सल्यानको छैठौं अधिवेशन बिहीबार त्रिवेणीगाउँपालिकाकाे लुहाममा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत र नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजवालले मैन बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले समाजले बिश्वास गर्ने र आवाज विहिनको आवाजको रूपमा पत्रकारले काम गर्ने भएकाले पत्रकारिता पेशा अंगालेर काम गर्न चुनौती भएको बताए । उनले जनजीविका, विकास र पछाडी परेका वर्ग र समुदायलाई प्राथमिकता दिन आग्रह गरे । मिडियामा राजनीतिक विषयलाई मात्र महत्व दिँदा विकास र पछाडी परेका वर्गका विषयले कम महत्व पाएकाले त्यसतर्फ पत्रकारको ध्यान जानु पर्ने उनको भनाई छ ।
यस्तै नेपाल पत्रकार महासंघका केन्दीय कोषाध्यक्ष कलेन्द्र सेजवालले पत्रकारले खोजमुलक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय निष्पक्ष र खोजमुलक पत्रकारिता हराउँदै गएको बताउदैँ उनले नागरिकको मन जित्ने गरी काम गर्न सुझाव दिए । उनले भने, ‘पत्रकारिता क्षेत्र निकै जोखिम हो । यो पेसाले आज देशमा आमुल परिवर्तन ल्याएको हाे । त्यसैले पत्रकारिता शुद्ध समाज सेवा हाे ।’ निश्पक्षता, निडर स्वतन्त्र भएर राम्रो वा नराम्रो कामको चिरफार गर्न उनको जोड थियोे ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्की, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा, महासंघका कर्णाली प्रदेश समिति महासचिव खगेन्द्र भट्टराई, इप्रका लुहामका प्रमुख रेशमलाल पौडेल, जिल्ला हुलाक कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख पूर्ण बहादुर बुढाथोकी, त्रिवेणी गापाका विभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार महासंघका केन्द्रीय तथा प्रदेश परिषद सदस्यहरु, महासंघका प्रदेश समितिका सदस्यहरु, पूर्व केन्द्रीय सदस्य, महासंघ सल्यान शाखाका सल्लाहकारहरु, विभिन्न पत्रकार संगठनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका प्रमुख प्रतिनिधी, महासंघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनमा तीन जना पत्रकारलाइ पुरस्कृत गरिएकाे थियाे । शालिकराम स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्लीराज रावत, लोकमान बुढाथोकी संस्थापक नगरप्रमुख पत्रकारिता पुरस्कारबाटयादव उपाध्याय र अजिता स्मृती पुरस्कारबाट शिवा डाँगी पुरस्कृत भएका हुन् ।
महासंघकाे केन्द्रीय महाधिवेशन आगामी बैशाख २१ र २२ गते लुम्बिनीमा आयोजना हुनेछ । त्यसपछि निर्वाचन मिति ताेकेर एकैदिन केन्द्र, प्रदेश, शाखाहरुकाे निर्वाचन हुनेछ ।