काखमा ३ महिने छोरी र काँधमा प्लेकार्ड भिरेर प्रतिनिधिसँग भोट माग्दै सल्यानकी एलिसा
चैत २२, सल्यान ।
नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनको यतिबेला चुनावी प्रक्रिया चलिरहेको छ । जिल्ला समन्वय समिति सल्यानको सभाहलमा जारी अधिवेशनमा अहिले मतदान प्रक्रिया भैरहेको छ ।
दुईवटा समुहहरु चुनावी मैदानमा छन् । यहि चुनावी भिड्मा एकजना महिला ३ महिनाको दुधे बालक समाएर उम्मेदवार बनी चुनावमा होमिएकी छन् ।
बनगाड कुपिण्डे नगरपालिका ९ स्वारा निवासी २४ वर्षीया एलिसा डिसी जिल्ला कमिटीको ४० वर्ष मुनिको महिला सदस्यमा उम्मेदवार छिन् । काखमा ३ महिनाको दुधे बालक समाएर प्रतिनिधिहरु सँग भोट माग्दै छिन् उनी ।
“समाजमा महिलाले राजनीति गर्न हुँदैन । घरकै काम मात्रै गर्नुपर्छ भन्ने गलत सोच छ ।” लेकाली अनलाइन सँग कुरा गर्दै उनले भनिन्, “तर मैले राजनीति गर्नु छ । महिलाले पूरा गर्ने आफ्नो प्राकृतिक जिम्मेवारी सँगै राजनीति लाई पनि अगाडि बढाउन सक्छु ।”
चैतको टनटलारपुर घाममा ३ महिने छोरीलाई काखमा समाएर प्रतिनिधिसँग भोट माग्न गाह्रो भएपनि चुनाव जित्ने आसावादीमा उनी छिन् ।
सानै उमेरदखि राजनीति र सामाजिक कार्यमा लागेको र अहिले पनि श्रीमान र परिवारको साथ रहेको उनले बनाइन् । उनका श्रीमान भने राजनीति भन्दा फरक क्षेत्र सरकारी जागिरमा छन् ।