२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

सल्यान अस्पतालमा ६ महिने बच्चाकाे मृत्यु प्रकरण : वास्तविकता के हाे ?

चैत २०, सल्यान ।

शारदा नगरपालिका २ खलंगाकी शान्ती प्रभा पुरीले आफ्नी ६ महिने छाेरी बिरामी भएपछि शनिवार चैत १७ गते राती २ बजे सल्यान जिल्ला अस्पतालमा भर्ना गरिन् । छाेरीलाइ सामान्य ज्वराे र निमुनिया भएपछि उनले राती नै अस्पतालकाे इमर्जेन्सी वार्डमा लगेकी हुन् ।

राती अस्पतालकाे इमर्जेन्सी कक्षमा केहि बिरामी र एकजना अहेव मात्रै थिए । त्यसबेला नाइट ड्युटीका डाक्टर थिए साेनु यादव । इमर्जेन्सी कक्षमा रहेका अहेवले बिरामी आएकाे बारे जानकारी डाक्टर यादवलाइ गराए । डाक्टर यादव इमर्जेन्सी कक्षमा नआएर उनले फाेन मार्फत अहेवलाइ उपचार प्रकृयाबारे सल्लाह दिए ।

डाक्टरकाे सल्लाहअनुसार अहेवले राती २ बजे नै ज्वराे र निमुनिया सबै चेकअप गरी पटकपटक गरेर चारवटा इन्जेक्सन समेत लगाइदिए । ल्याव परिक्षणकाे लागि पनि ब्लड निकालेर ल्याव कक्षकाे स्वास्थ्यकर्मीलाइ पनि बाेलाए ।

तर बिहानसम्म न नाइट ड्युटीका डाक्टर आए न ल्याव परिक्षण गर्ने स्वास्थ्यकर्मी आए !

बिहान ७ बजे मात्रै डाक्टर साेनु यादव आएर बिरामी चेक गरे । बिरामी बच्चा ठिकै भएकाे र सन्चाे हुने डाक्टरले आमालाइ बताए । डाक्टरले अर्काे इन्जेक्सन पनि लगाइदिए । केहि समयपछि बच्चाकाे ज्यान गयाे ।

केहिबेर अगाडीसम्म राम्राे भनेकाे बच्चाकाे केहि समयमै ज्यान गएपछि आमा र परिवार आक्रान्त बने । डाक्टरले लापरबाही गरेकाे, रातभर ड्युटीकाे समयमा नआएकाे र ल्याव परिक्षण गर्ने स्वास्थ्यकर्मी पनि नआएर ल्याव परिक्षण नभएकाे जस्ता कुराले परिवारलाइ पिराेल्याे ।

त्यसपछि परिवार र आफन्त जिल्ला अस्पतालमा आएर डाक्टरकाे लापरबाहीले बच्चाकाे ज्यान गएकाे भन्दै आन्दाेलनकाे तयारी गरे । जिल्ला प्रहरी कार्यालय सल्यानबाट इनिस्पेक्टर भवानी प्रशाद धमला सहितकाे प्रहरी टाेली पनि आयाे ।

अस्पतालमा के भयाे त्यस दिन

अस्पतालमा पीडित परिवार पक्ष, अस्पतालकाे टाेली र जिल्ला प्रहरीकाे टाेली गरेर सबैजनाकाे सामुहिक छलफल भयाे ।छलफलमा डाक्टरले आमालाइ दुध नखुवाउन भनेर सल्लाह दिएकाेमा आमाले दुध खुवाउदा मुटुकाे अप्रेशन गरेकाे बच्चालाइ दुध सर्केर ज्यान गएकाे बताए । अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले भने, ‘उपचारमा संलग्न डाक्टरसापले आमालाइ दुध नखुवाउन भन्नुभएकाे रहेछ । तर आमाले दुध खुवाउनु भएछ । त्यहि दुध सर्केर ज्यान गएकाे हाे ।’

त्यसपछि जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर भवानी प्रसाद धमलाले आफुले ‘यहाँका डाक्टरकाे विश्वास लाग्दैन् । शवलाइ अनेन्त्र लगेर पाेस्टमार्टम गराैं । अन्य इन्जेक्सन लगाएर बच्चाकाे ज्यान गएकाे भए डाक्टरलाइ कारबाही हुन्छ’ भनेकाे बताए ।

पछि अस्पतालकाे टाेली , प्रहरी र आफन्त सबैले शव पाेस्टर्माट नगर्ने र अबका दिनदेखि अस्पतालमा डाक्टर समयमै आएर उपचार गर्नुपर्ने माैखिक सहमती भएपछि परिवारले शव लिएर गएकाे इनिस्पेक्टर धमलाले बताए । परिवारले पनि शव दाहासंस्कार गरे ।

अहिले के भयाे ?

तर यता मृतक बच्चाकी आमाले डाक्टरकै लापरबाहीकै कारण बच्चाकाे ज्यान भएकाे बताउँदै आएकी छन् । उनले आजमात्रै जिल्ला प्रशासनमा घटनाबारे सत्यतथ्य छानविनका लागि निवेदन समेत दिएकी छन् ।

मृतक बच्चाकी आमा सान्ती प्रभा पुरीले लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘यसमा डाक्टरकाे लापरबाही छ । मलाइ दुध खुवाएर बच्चाकाे ज्यान भएकाे भनेर विषय अन्तै लिन खाेजेका हुन् । मैले दुध खुवाएकी थिइन् । डाक्टरले इन्जेक्सन लगाएपछि बच्चाकाे ज्यान गएकाे हाे ।’

उता अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले बच्चाकाे ज्यान जानुमा डाक्टरकाे कुनै लापरबाही नभएकाे तर विषयलाइ राजनीतिकरण गर्न खाेजिएकाे बताए । ‘नाइट ड्युटीमा रहेका डाक्टर सयममा नआउनु एउटा पाटाे हाे । त्याे गल्ती फरक हाे तर डाक्टर समयमा नआएर बच्चाकाे ज्यान गएकाे हाेइन् ।’ उनले भने, ‘रातभरी डाक्टरकै परामर्शअनुसार अहेवले उपचार गर्नुभएकाे छ । डाक्टरले बिहान हेर्नुभएकाे छ बच्चाकाे अवस्था राम्राे थियाे । तर पछि आमाले दुध खुवाएपछि बच्चाकाे ज्यान गएकाे हाे ।’ यसमा डाक्टरकाे दाेष नभएकाे उनकाे भनाइ छ ।

यस विषयमा कर्णाली प्रदेशकाे बैठकमा समेत प्रदेश सभा सदस्य सुरेश अधिकारीले घटनामा डाक्टरकाे लापरबाही भएकाे भन्दै छानविन गर्न माग समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालय सल्यानमा पनि बुधबार यस विषयमा छलफलका लागि सबै पक्षलाइ बाेलाइएकाे छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस