एमाले सल्यानमा नयाँ नेतृत्वको लागि सहमति हुन सकस्, शंकर र विष्णुका दुईवटा टिम बने
चैत १८, सल्यान ।
नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।
चुनावका लागि जिल्लामा दुईवटा टिम बनिसकेका छन् । एउटा टिम महासचिव शंकर पोखरेल र अर्को टिम उपाध्यक्ष विष्णु पौडेल निकट रहेको छ । शंकर निकटको टिम जिल्लामा संस्थापन पक्ष हो भने विष्णु निकटको टिम स्थापनइतरको हो ।
संस्थापन पक्षबाट अध्यक्षमा बहालवाला उपाध्यक्ष भीमबहादुर सेन र संस्थापनइतरबाट पुर्व प्रदेश सचिवालय सदस्य कुल बहादुर गिरीको उम्मेदवारी पर्ने करिबकरिब अन्तिम चरणमा रहेको श्रोतले लेकाली अनलाइनलाई बतायो ।
त्यस्तै उपाध्यक्षमा संस्थापन पक्षबाट ओजबहादुर बुढाथोकी, सचिवमा पुष्पा बोहरा, उपसचिवमा गणेशमान सिंह र सहनशीलता ओलीको चर्चा छ ।
उता संस्थापनइतरबाट उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा दिपेन्द्र प्रकाश डिसी, उपसचिवमा गुन्जमान बुढा तथा घनश्याम पुन र बुद्धा केसीको चर्चा छ ।
केही समयपछि बन्दसत्र हुने बताइएको छ । अहिले नेताहरु सहमतिको लागि छलफलमा जुटेका छन् । जिल्ला अधिवेशनका लागि केन्द्रबाट उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट लगायतका नेताहरु सल्यान आएका छन् ।
आज सहमति भएन् भने भोलिदेखि चुनावी प्रक्रियामा जाने नेताहरू बताउँछन् ।