२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

पशुपतिमा शंकरकाे दाहसंस्कार गरेर घर फर्किँदै थिए आफन्त, त्रिशुलीमा अस्ताए

चैत १७, चितवन ।

आज त्रिशुलीमा खसेकाे ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यकाे दाहसंस्कार गरी फर्किँदै गरेकाे खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट ट्याक्सी करिब ५० मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएकाे थियाे ।

ट्याक्सीमा गोरखा नगरपालिका-७ का ७० वर्षीया जुनमाया रोकाय, ४१ वर्षीया हरिमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय, ३५ वर्षीय अर्जुन शिर्मल, ९ वर्षीय आगमन नगरकोटी र १८ वर्षीय दिवस रोकाय सवार थिए। दिवसबाहेक सबैलाई प्रहरीले मृत अवस्थामा नदीबाट निकालेको छ।

दिवस भने बेपत्ता छन्। उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिन्टारबाट गोताखोरको टोली परिचालन गरिएको छ। मृतकहरू सबै एउटै परिवारजनका सदस्य हुन्।

पशुपतिमा शंकरकाे दाहसंस्कार गरेर घर फर्किँदै थिए

गोरखा नगरपालिका-७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। उनी त्रिशुलीमा दुर्घटनामा परि मृत्यु हुने ७० वर्षीया जुनमाया रोकायका छाेरा हुन् ।

गोरखा नगरपालिका-७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कँदै थिए। दुर्घटनामा परी मृत्यु भएका जुनमाया रोकाय छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन्। दुर्घटनामै ज्यान गुमाएकी हरिमाया र अन्जना उनकी छोरी हुन् भने शंकरकी दिदिबहिनी हुन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाँई हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन् । त्रिशुलीमा बेपत्ता भएका १८ वर्षीय दिवस शंकरका छाेरा हुन् ।

शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेका थिए।

‘एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर उनीहरू गाउँ फर्कँदै रहेछन्। तीनवटामध्येको एटा ट्याक्सी त्रिशुलीमा खसेछ,’ वडाध्यक्ष श्रेष्ठले भने। उनका अनुसार शंकरका श्रीमती भने अर्कै गाडीमा बसेका थिए।

अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस