२०८१ बैशाख २० गते बिहिवार | 2024 May 2nd Thursday

अन्तिम चरणमा पुगेपछि ठेकेदारले रोके अस्पताल भवन निर्माण

खोटाङ : जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम पुसदेखि ठप्प छ।

अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न २०७८ असार २४ गते निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले ३० महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको अस्पताल भवन निर्माणको म्याद गत पुस २४ गते नै सकिएको हो। २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लगानीमा भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो।

निर्माणाधीन अस्पताल भवन आयोजना सम्पन्न गर्नका लागि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले पुनः १५ महिनाको म्याद थपेको बताइएको छ। लम्बाइ ४० मिटर र चौडाइ २०.५ मिटर भएको चारतले सुविधायुक्त अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि रोकिएको हो।

संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको जिल्ला अस्पताल भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिए। ‘गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छ’, उनले भने, ‘निर्माणाधीन अस्पतालको पक्की भवन समयमा सम्पन्न नहुँदा ट्रस भवनको साँघुरो कोठामार्फत अस्पतालको सम्पूर्ण सेवा प्रवाह गरिरहेका छौँ।’

रोकिएको कामलाई निरन्तरता दिन पटक–पटक फोन गर्दा ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम कटवालको मोबाइल नै अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए।

‘ठेकेदारलाई धेरैचोटी फोन गरिसकेँ। निर्माणस्थलमा खटिएका ठेकेदार कटवालको मोबाइल स्वीच अफ छ। सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियरले मङ्गलबार एकजना प्रतिनिधिलाई सम्पर्कमा ल्याएका छन्। सम्पर्कमा आएका ती प्रतिनिधिले अब चाँडै रोकिएको काम पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्’, उनले भने, मैले काम रोकिनुका कारण सोधेँ। प्राविधिक कारणले भुक्तानी रोकिएका कारण बीचमा काम रोक्नुपरेको बताएका छन्। इन्जिनियरसमेत राखेर गरिएको भेटका क्रममा त्यो विषय मिलाइसकेँ समेत भनेका छन्।’

२०४९ स्थापना भएको २९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, सुत्केरी गराउने कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको काम थालिएको थियो। पुरानो संरचनाका अस्पताल भवन भत्काइएपछि सोही ठाउँको माथिल्लो तलामा ट्रस भवन निर्माण गरेर अस्पतालको नियमित सेवा सञ्चालन गरिएको छ। साँघुरो तथा एउटै ट्रस भवनमा बसेर अस्पतालको सम्पूर्ण काम गर्नुपर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन्।

अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेर उपचार गर्ने गरिएको प्रमुख डा सङ्ग्रौलाले बताए। ‘एक महिनामा १०-१५ जना महिलालाई शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छौँ। शल्यक्रिया कक्ष साँघुरो छ। शल्यक्रियाका लागि आवश्यक जनशक्ति अटाउने स्थिति छैन’, उनले भने, ‘ट्रस भवनमा सञ्चालित अस्पतालमा शय्या अभाव भएकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरेका छौँ।’

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस